'हाकिम हुने इच्छा थियो, मोडल भएँ
~ अन्तरवार्ता with Dristi News
मोडलिङ अँगाल्दै गर्दा सुनिता वाइवालाई लाग्थ्यो यो क्षेत्र रहरमात्रै हो। तर, अहिले उनलाई 'मोडलिङ गरेरै पनि जीन्दगी चल्नसक्छ' भन्ने लाग्छ।
ललितपुर, बतासेकी सुनिता करिब ९ वर्षदेखि मोडलिङ क्षेत्रमा छन्। तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका सुनिता भन्छन् – 'सुरुका दिनहरुमा फ्रिमै मोडलिङ गर्नुपर्दा रहरमात्रै रहेछ भन्ने लागेको थियो। अहिलेचाहिँ आशा पलाएको छ।'
लजालु स्वभावकी सुनिताले उच्च शिक्षा हासिल गरेर 'हाकिम' बन्ने उद्देश्य लिएका थिए। तर, अचानक ग्ल्यामर क्षेत्रमा पाइला राख्न पुगे। आफूले चाहेजस्तै स्क्रिप्ट भएको फिल्ममा प्रस्ताव आएमा काम गर्न तयार सुनिता भन्छन् – 'मलाई मोडलिङ ठीकै लाग्न थालेको छ। महिनेत गर्यो भने मोडलिङबाट पनि जिन्दगी चल्छ भन्ने आशा पलाएको छ।' कुशल डान्सरसमेत रहेका सुनिता वाइबासँग दृष्टिको जम्काभेट:
आजभोलि के गर्दै हुनुहुन्छ?
केही दिनयता घरमै आराम गर्दैछु। केही स्टेज कार्यक्रमका लागि कुरा भइरहेको छ।
गीत पनि गाउनुुहन्छ कि मोडलिङ मात्रै?
गीत गाउँदिन। लेख्ने चाहिँ गरेकी छु। खासमा मेरो क्षेत्र मोडलिङ हो। समय मिल्दा गीत लेख्ने गरेकी हुँ।
तपाईंलाई गीतकार भन्न मिल्छ?
रहरले मात्र गीत लेख्ने गरेकी हुँ। खासमा म गीतकार होइन। त्यसैले मलाई मोडल नै भन्न उपयुक्त होला।
मोडलिङमा कसरी लाग्नुभयो?
मोडलिङ क्षेत्रमा लाग्छु भन्ने मैले सोचेकै थिएनँ। पढ्न काठमाडौं आएपछि अचानक यो क्षेत्रमा पाइला राख्न पुगेँ। पढ्दै गर्दा एक फाइनान्समा काम गर्थेँ। त्यतिखेरै फाइनान्सकै एक जना दाईले 'मोडलिङ गर्ने हो?' भनेर प्रस्ताव गरेपछि यो क्षेत्रमा पाइला राखेकी हुँ।
इच्छाचाहिँ के थियो नि?
धेरै पढेर हाकिम बन्ने इच्छा थियो। तर, मैले पढाइलाई अगाडि बढाउन सकिनँ। प्लस–२ सम्म अध्ययन गरेर छाड्नुपर्याे। कारण त्यो समयमा घरको आर्थिक अवस्था पनि कमजोर थियो। त्यही समयमा ममी पनि बिमारी हुनुभयो। त्यसैले पढाइ नै छोड्नुपर्यो। र, हाकिम बन्ने सपना अधुरै रह्यो।
मोडलिङमा लाग्नुभएको कति भयो?
लगभग नौ वर्ष भयो। २०७१ सालबाट यो क्षेत्रमा लागेकी हुँ। त्यसयता निरन्तर मोडलिङमै छु।
मोडलिङ क्षेत्रमा खुसी हुनुहुन्छ?
अहिले त खुसी नै छु। सुरुका दिनहरूमा चाहिँ 'मोडलिङ रहरमात्रै रहेछ' भन्ने लागेको थियो। किनकि, मोडलिङ गरेकोसमेत पैसा पाइँदैनथ्यो। तीन–चार वटा भिडियो मैले फ्रि मै गरेको छु। अहिलेचाहिँ राम्रै पारिश्रमिक पाइन्छ। त्यसैले मोडलिङबाट पनि जीन्दगी चलाउन सकिन्छ भन्ने आशा पलाएको छ।
सुरुमा पारिश्रमिक नपाउनुको कारण के थियो?
जतिखेर मैले मोडलिङ अँगाल्दैथिएँ, त्यो बेला मलाई मात्र होइन, नयाँ कलाकारलाई फ्रिमै काम लगाउने प्रवृति थियो। काम गर्दै जाँदा र अनुभव बटुल्दै गएपछि भनेजस्तै पारिश्रमिक पाउन थालेँ।
सुरुका दिनमा मोडलिङ गर्दाको अनुभव कस्तो थियो?
आफ्नो भिडियो हेर्दा लाज लाग्थ्यो। म अलि लजालु पनि थिएँ। आफ्नै भिडियो कसैले देखाइदियो भने पनि लाज लाग्थ्यो। अहिले पनि आफ्नो भिडियो हेर्दा अड लाग्छ।
लजालु भएर कसरी अभिनय गर्नुहुन्थ्यो?
अभिनय गर्दाचाहिँ लाज लाग्दैनथ्यो। तर, भिडियो तयार भएर हेर्दा चाहिँ लाज लाग्थ्यो। अहिले त पहिलेजस्तो लजालु पनि छैन।
मोडलिङबाहेक के गर्नुहुन्छ?
पहिले त काम गर्थेँ। अहिलेचाहिँ केही गर्दिनँ। काम गर्दै मोडलिङ गर्दा समय पनि मिलाउन गाह्रो हुन्छ। त्यसैले अहिले त्यतिकै बसेकी छु। राम्रो जागिर पाएँ भने अबचाहिँ गर्छु।
फिल्मका लागि प्रस्ताव आयो भने गर्नुहुन्छ? यसअघि पनि फिल्ममा प्रस्ताव आएको थियो। तर, स्क्रिप्ट मन परेन र समय पनि नमिल्ने भएर गरिनँ। फिल्मका लागि एक–दुई महिना समय दिनुपर्ने भएकाले फिल्मको प्रस्ताव इन्कार गरेँ। तर, अबचाहिँ राम्रो कथा र ब्यानरबाट अफर आयो भने गर्छु।
तपाईंले गर्न चाहको कस्तो फिल्म हो?
मलाई लभस्टोरी फिल्म मनपर्छ। राम्रो मन छुने लभस्टोरी फिल्मका लागि अफर आयो भने काम गर्न तयार छु।
तपाईंको लभस्टोरीचाहिँ के छ?
अहिले त्यतातिर ध्यानै दिएकी छैन। हेर्दै जाऊँ, समय आएपछि आफ्नो लभस्टोरी पनि होला।
ग्ल्यामरस क्षेत्रमा हुनुहुन्छ। प्रेम प्रस्ताव कतिको आउँछ?
अफरहरू त आइरहेको हुन्छ। अहिलेसम्म करिअरमा मात्र ध्यान दिएकी छु। त्यसैले अहिलेसम्म मेरो अफेयर्स छैन। म त्यति राम्री पनि छैन। म राम्री देखिएको मेकअपले मात्र हो।
बाँकी उद्देश्य के छ?
स्कुल पढ्दै गर्दा उद्देश्य बनाएकी थिएँ। अहिले त केही योजना नै बनाएकी छैन। जे आउँछ, बेहोर्दै जाने हो।

Post a Comment
0 Comments